बागलुङ, ४ असार– बागलुङ उद्योग बाणिज्य संघको १८ औं अधिवेसनबाट नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् । उनले शनिबार हुन लागेको संघको निर्वाचनअघि नै प्रतिष्पर्धीले मैदान खाली गरिदिएपछि अध्यक्ष पद पाएका हुन् ।
प्रमुख निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार निर्वाचनको अन्तिम तयारी भएको बेला अर्का उमेदवारले नाम फिर्ता लिएपछि कंडेल निर्विरोध भएका हुन् । पहिलो चरणमा ५ जना उमेद्वारले अध्यक्षको दाबी गरेका थिए । क्रमशः घटेर दुइ जनाबीच प्रतिष्पर्धा हुनै लाग्दा कंडेलका प्रतिष्पर्धी निर्माणकुमार श्रेष्ठ ‘बासु’ले उमेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन समितिले शनिवारका लागि मतदानको मिति तय गरेपनि सदस्यहरुले मतदान गर्नु नपरेको हो । अघिल्लो हप्तादेखि शुरु भएको निर्वाचन प्रक्रियामा १४ जना खुला सदस्य, दुइ महिला र २ उद्योग सदस्य पनि निर्विरोध भएका छन् ।
निर्वाचित भएका कंडेल बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान महासचिव हुन् । कंडेल यसअघि संघकै उपाध्यक्ष र सदस्य समेत भएर काम गरिसकेका थिए । श्रेष्ठ नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य छन् ।
चुनावी प्रक्रियामा ५ जना आंकांक्षी भएपनि अध्यक्ष चासो राखेका उमाकान्त शर्मा ‘बाबू’ले भने सर्वसम्मत गर्ने लक्षले सदस्य पदमै बसेका थिए ।
खुला सदस्यमा अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविककुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र शर्मा, बिष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दिपक हमाल, भूपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ र इश्वरजंग राजभण्डारी निर्विरोध भएका छन् । उद्योग सदस्यतर्फ ऋषिराम गौतम र निलेस राजभण्डारी तथा महिला सदस्यमा यमुना रेग्मी र शिवकला थापा पनि निर्विरोध भैसकेका छन् ।