बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९\०८० का लागि ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको अनुमानीत बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११ औं गाउँसभामा उपाध्यक्ष जेत बहादुर थापाले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका स्तरीय कार्यक्रमअन्र्तगत विभिन्न विषयगत समितिहरुतर्फ ५ करोड १६ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । आर्थिक विकासका लागि १ करोड ६८ लाख रुपैयाँ, सामाजिक विकासका लागि २ करोड २६ लाख ५० हजार रुपैयाँ, पुर्वाधार विकासका लागि ५७ लाख रुपैयाँ, सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३५ लाख रुपैयाँ र वन, वातावरण तथा विपद ब्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन भएको हो ।
काठेखोलाको प्रशासकीय भवन निर्माण गर्न जग्गा ब्यवस्थापनका लागि ७० लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष थापाले बताए । गाउँपालिकाको हरेक वडाको योजना तथा कार्यक्रमका लागि ६ करोड १५ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ ।
अक्षेते, करिना, वडा कार्यालय धिमी जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र अक्षेते राहाले घुम्टीदेखि डुडिया, लामांगीघुम्टीहुँदै ४ नं. वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि ५० लाख रुपैया गरी जम्मा १ करोड रुपैयाँ बिनियोजन भएको छ । वडाको गौरबको योजना पहिचान गरि कम्तीमा २० लाख नघट्ने गरि प्रत्येक वडाको एक एक वटा योजनासहित जम्मा ८ वटा योजनालाई बजेट बिनियोजन गरेको थापाले बताए ।