बागलुङ, १२ असार– जिल्लामा दुधको मुल्य २० रुपैयाँले वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले दुध तथा दुधजन्य पदार्थहरुको मुल्य बृद्धि गरेको हो ।
यसअघि एक सय रुपैयाँ प्रतिलिटरमा खरिद बिक्री हुँदै आएको दुधको मुल्य १ सय २० रुपैयाँ कायम गरिएको छ । पोकाको दुध ६५, दही प्रतिलिटर १ सय ३०, पोकाको दही ७०, ध्यु प्रतिकिलो १ हजार ४ सय, पनिर प्रतिकिलो १ हजार १ सय र नौनी प्रतिकिलो १ हजार २ सय रुपैयाँ, आईसक्रिम र छुर्पीको पनि मुल्य बढेको संघले जनाएको छ ।
दाना, चापट, पराल, घाँस दुधको ढुवानीलगायत किसानका लागि आवश्यक सबै सामग्रीको मुल्य बृद्धि भएको भन्दै संघले मुल्य बृद्धि गरेको हो । शनिबार बसेको बागलुङ दुग्ध उत्पादक संघको बैठकले सरकोरवाला सँगको छलफलपछि मुल्य बृद्धिको निर्णय गरेको थियो ।
बृद्धि भएको मुल्य असार १५ गतेदेखी कार्यान्वयनमा आउने संघका कार्यवहाक अध्यक्ष नन्दलाल जैसीले बताए । दुग्ध विकास बोर्डको निर्णय अनुसार छिमेकी जिल्लाहरुमा दुधको मुल्य यसअघिनै बृद्धि भएको भएपनि बागलुङमा भने यसअघि मुल्य बृद्धि गरेको थिएन् ।
‘किसानले धान्नै नसक्ने गरी बजार मुल्य बढेपछि दुधको केही मुल्य बृद्धि हुनु स्वभाविक हो’ दुग्ध उत्पादक सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले भने ‘किसान अझै मर्कामा छन्, दुग्ध उत्पादक संघले उपभोक्तासँग सल्लाह गरेर मुल्य बृद्धि गरेको हो ।’ मुल्य बृद्धि गर्नु पूर्व उपभोक्ता मञ्च, अधिकारवादी संस्थाहरुसँगको छलफलपछि मुल्य बृद्धि गरिएको थियो ।
संघले बृद्धि भएको मुल्यमध्ये ७७ प्रतिशत किसानलाई र बाँकी २३ प्रतिशत व्यवसायी तथा सहकारीले लिन पाउने जनाएको छ । वैज्ञानिक आधारमा दुधको उपभोक्ता मुल्य बृद्धि गरिएको संघले दाबी गरेको छ । बागलुङमा उत्पादित दुध बागलुङका विभिन्न बजार क्षेत्रका अलवा छिमेकी जिल्लाका सदरमुकाम, पोखरा र बुटवलमा निर्यात हुने गरेको छ ।