९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा परीक्षण गरिएका ८४ नमुनामध्ये अधिकांश पानीमा ‘कोलीफर्म’ भेटियो


जनमञ्च संवाददाता
  • २२ असार २०७९ , बुधबार

  • बागलुङमा परीक्षण गरिएका ८४ नमुनामध्ये अधिकांश पानीमा ‘कोलीफर्म’ भेटियो

    बागलुङ, २२ असार– जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा भेटिने किटाणु ‘कोलीफर्म’ फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक बर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलीफर्म’ फेला परेको हो ।
    बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलीफर्म’ भेटिएको कार्यालयले जनाएको छ । नगरमा वितरित पानीका धारामा भने ‘कोलीफर्म’को मात्रा शुन्य छ । ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलीफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन डिल्ली आचार्यले बताए ।
    बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलीफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये ७ वटा, गलकोट नगरपालिकाका १२ मध्ये ३ वटा, ढोरपाटन नगरपालिकाका ७ मध्ये २ वटा, तमानखोला गाउँपालिकाका १६ मध्ये ७ वटा र बडिगाड गाउँपालिकाका ९ मध्ये ३ वटा पानीको मुहानमै ‘कोलीफर्म’ भेटिएको हो ।
    त्यस्तै निसीखोला गाउँपालिकाका ८ मध्ये ४ वटा, तमानखोला गाउँपालिकाका ११ मध्ये ४ वटा र बरेङ गाउँपालिकाका १२ मध्ये ४ वटा मुहानमा ‘कोलीफर्म’ भेटिएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले स्थानीय तहको अनुरोधमा प्रतिनिधिमुलक हिसाबमा पानीका मुहानहरु परीक्षण गरेको थियो ।
    ‘मुहानमा मात्रै होईन पाइपलाईन, ट्याङ्की र धारामा समेत ‘कोलीफर्म’को मिसावट पुग्न सक्छ’ आचार्यले भने ‘कयौं ठाउँमा मुहानमा सफा रहेको पानी धारामा पुग्दा ‘कोलीफर्म’को मात्रा भएको भेटिन्छन् ।’ उपभोक्ताको धारासम्म पुग्ने पाइपलाईन बीचमा टुटेफुटेर मिसावट हुने ठाउँ भएमा मुहान तथा ट्याङ्कीमा नभेटिएको ‘कोलीफर्म’ धारामा भेटिने जोखिम हुन्छ । खुल्लाचौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याईएका मुहानमा ‘कोलीफर्म’को मात्रा बढी देखिने गरेको छ ।
    मानव दिशामा हुने ‘कोलीफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाईफाईट, जण्डिस, हेपाटाईटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘कोलीफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाई गर्न, पानी शुद्धिकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ । ‘कोलीफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धिकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend