बागलुङ, २२ असार– यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकल नै सञ्चालन गरेर अबैध रुपमा निरोगिताको प्रमणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगिताको प्रमाणपत्र वितरण गर्ने उनीहरु बुधबार दिउँसो पक्राउ परेका हुन् ।
धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।
उनीहरुले सम्बन्धित चिकित्सकको अनुपस्थितीमै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारिरीक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पोलिक्लिनिकबाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको उनले बताए । जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थपगरी अनुसन्धान भैरहेको रानाले बताए ।