बागलुङ, ३२ असार– जिल्लाका स्थानीय तहमा झण्डै २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा २० करोड ९७ लाख ४८ हजार बेरुजु देखिएको हो ।
उक्त आर्थिक वर्षमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकामा ३ दशमलब ५० प्रतिशत रकम बेरुजु रहेको महालेखाले औँल्याएको छ । काठेखोलाको कूल खर्च बजेटमध्ये चार करोड १५ लाख ६२ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नमूना विद्यालयको रूपमा अमर माविको भवन तथा संरचना बनाउनका लागि भएको भुक्तानी रकम एक करोड ५० लाख बेरुजु देखिएको छभने वडा कार्यालय भवन निर्माण गर्दा उपभोक्ता समितिमार्फत काम भएको भन्दै निर्माण खर्चलाई बेरुजुमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।
बागलुङमा बडिगाडको १ करोड ४७ लाख ४ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बागलुङ नगरपालिकाको २ करोड ६६ लाख २६ हजार, गलकोट नगरपालिकाको दुई करोड ४५ लाख २१ हजार, जैमिनी नगरपालिकाको दुई करोड एक लाख ३१ हजार र ढोरपाटन नगरपालिकाको एक करोड ५३ लाख ६९ हजार बेरुजु देखिएको छ ।
यस्तै, निसीखोला गाउँपालिकाको दुई करोड १९ लाख ११ हजार, ताराखोला गाउँपालिकाको एक करोड ९६ लाख ३४ हजार, बरेङ गाउँपालिकाको एक करोड ४० लाख ५५ हजार र तमानखोलाको एक करोड १२ लाख ३५ हजार बेरुजु रहेको महालेखाले उल्लेख गरेको छ । ढोरपाटन, जैमिनी र बागलुङ नगरपालिकाले विगतका वर्षभन्दा आर्थिक वर्ष २०७७÷७८ मा बेरुजुको अवस्थामा सुधार ल्याएका हुन् । ढोरपाटनको गत वर्ष सार्वजनिक प्रतिवेदनमा ६ प्रतिशतभन्दा धेरै बेरुजु थियो भने बागलुङ नगरपालिकाको बेरुजु चार प्रतिशतको हाराहारीमा थियो । प्रतिवेदनले उल्लेख गरेअनुसार असुल गर्नुपर्ने भन्दा धेरै बेरुजु प्रक्रिया नपुगेका कारणले देखिएको छ ।