बागलुङ, ५ साउन– जिल्लामा गत असार महिनामा सवा दुई अर्व रुपैयाँ खर्च भएको छ । जिल्लामा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयले उक्त खर्च गरेका हुन् ।
असार महिनामा मात्रै चालुतर्फ एक अर्ब १ करोड ९५ लाख ५५ हजार ३ सय ७८ रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको भएको बजेट ८ अर्ब १८ करोड ५६ लाख १४ हजार ३ सय ८८ रुपैयाँको १२.४६ प्रतिशत हो । असार महिनामा मात्रै यहाँका सरकारी कार्यायलहरुले १ अर्ब २४ करोड ८४ लाख २७ हजार ४ सय ३१ रुपैयाँ खर्च गरेका छन् । कुल विनियोजित २ अर्ब ७४ करोड, १ लाख ६४ हजार ७ सय ८३ मध्ये ३४.२८ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च भएको छ ।
पछिल्लो ११ महिनामा ४१.७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका कार्यालयहरुले असारमा मात्रै उक्त खर्च गरेका हुन् । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन् । कार्यालहरुबाट खर्च भएको तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षमा ८८.७५ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९४.४५ प्रतिशत र पुजीगत तर्फ ७५.२८ प्रतिशत बजेट खर्च भएको हो । गत आवमा जिल्लामा कूल ८७.८५ प्रतिशत खर्च भएको थियो । गत बर्ष ८३.०७ प्रतिशत पुँजीगत खर्च गरेका कार्यालयहरुले ९०.३१ प्रतिशत चालु खर्च गरेका थिए । अघिल्लो बर्षको तुलनामा चालु खर्च बढेको भएपनि पुँजीगत खर्चमा भने कमी आएको छ ।
जिल्लामा रहेका संघीय सरकारअन्र्तगतका कार्यालयहरुले भन्दा प्रदेश सरकारअन्र्तगतका कार्यालयहरुको पुँजीगत खर्च अनुपात उल्लेख्य रहेको छ । असार मसान्तसम्म संघीय सरकारको ५८.२५ प्रतिशत पुँजीगत खर्च हुँदा प्रदेश सरकारको ८७.७४ प्रतिशत पुँजीगत खर्च भएको छ ।
संघीयतातर्फ पूँजीगत शीर्षकमा एक अर्ब, ५४ करोड २६ लाख ९२ हजार विनियोजन भएकोमा ८९ करोड ८५ लाख ७४ हजार खर्च भएको छ । असार महिनामा मात्रै ३३ करोड ७३ लाख ७५ हजार भन्दा धेरै खर्च भएको छ भने प्रदेशका कार्यालयमा २ अर्ब ९ करोड ८८ लाख २७ हजार विनियोजन भएकोमा १ अर्ब ८४ करोड १५ लाख ९० हजार ६१९ खर्च भएको छ । खर्च भएकोमध्ये ९१ करोड १० लाख ५२ हजार ४११ असार महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ ।