काठमाडौं, ६ साउन– भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागी हने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायत एन्फाका पदाधिकारीले सफलताको गर्दै बिदाइ गरेका हुन् ।
उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै उक्त प्रतियोगिता उद्घाटन गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ । यसैगरी नेपालले दोस्रो खेल साउन ११ गते श्रीलङ्कासँग र तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल साउन १५ गते हुनेछ । त्यस्तै नेपालले साउन १७ गते बंगलादेश खेल्ने छ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले यही साउन २० गते अन्तिम चरणको खेल्नेछन् ।
नेपाली टोलीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् । यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धानी, रोशन थापा र अभिषेक वाइवा रहेका छन् । मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।