बागलुङ, ४ भदौ– रणस्मृति पुरस्कार सस्थाको ३० औं बार्षिककोत्सब तथा ५ औं शक्ती पुरस्कार समर्पण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पुरस्कार कोषको आयोजनामा भएको कार्यक्रममा सदरमुकामस्थित बाल मन्दिर प्राबिमा अध्ययनरत कक्षा ५ का उत्कृष्ट अंक ल्याउने २ बालबालिका र रुद्रेपिपलमा कक्षा ८ मा उत्कृष्ट भएका ३ जनालाई पुरस्कृत गरिएको हो । ३० बर्षदेखि नै कोषले बालबालिकालाई पुरस्कार बितरण गर्दै आएको छ ।
समारोहमा २०७९ सालको शक्ती पुरस्कार पर्वतका साहित्यकार इन्द्रकुमार बिकल्पलाई प्रदान गरियो । बिद्यालयका संस्थापक शक्तीबहादुर खड्का र उनका बाबु रणबहादुरको स्मृतिमा पुरस्कार कोष स्थापना भएको हो । पुरस्कार राशी ८ हजार नगद र प्रमाणपत्र छ ।
२०५० सालमा स्थापित रणस्मृति पुरस्कारमा बाल मन्दिरका अमृत परियार र अस्मिता आले, रुद्रेपिपलका नारायण पौडेल, किस्मत सुवेदी र नन्दनी शाहलाई पुरस्कार प्रदान गरिएको हो । शक्ती बहादुरका छोरा तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत खड्काले पुरस्कार राशी सानो भएपनि पितृलाई सम्झने दिनको रुपमा लिएको बताए ।
कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, भोजबहादुर खड्काको संचालन र कृपा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेल, पुरस्कृत व्यक्ति इन्द्रकुमार बिकल्प, रुद्रेपिपल माबिका शिक्षक प्रकाश आचार्य र पुरस्कृत बिद्यार्थी नारायण पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा पर्वत साहित्य संगमका पूर्व अध्यक्ष इन्द्रमान खत्रीले बिकल्पको चिनारी गरेका थिए । बिकल्पले दर्जनौ साहित्य कृति तथा कालिका छाल नामक त्रैमासिक पत्रिका चौबिस बर्षदेखि निरन्त प्रकाशित गर्दै आएका छन् ।