बागलुङ, ५ भदौ– बागलुङ उच्च अदालत बार एसोसिएसनको ४४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले शनिवार एक कार्यक्रमका बीच साधारणसभाको उद्घाटन गरे ।
साधारणसभा उद्घाटन गर्दै घिमिरेले कानुन व्यवसायीलाई पारदर्शी बन्न आग्रह गरे । उनले हरेक कानून व्यवसायीले कर तिरेपछि समाजमा हेर्ने दृष्टीकोण पनि सकारात्मक हुने भन्दै वकिलभन्दा शिर ठाडो बन्ने वातावरण बनाउन आग्रह गरेका छन् । नेपालका कानून व्यवसायीले अहिले बर्षमा ८० करोड कर तिरेको उल्लेख गर्दै आगामी बर्ष १ अर्ब पुग्ने उनले सुनाए ।
न्याय क्षेत्रमा आएपछि काठमाण्डौमा घर बनाउने लक्ष राखेर घुस खाने योजना बनाउने कोही पनि नआउन उनले चेतावनी पनि दिए । ‘व्यवसायिक मूल्य तोडेर वकिल बन्ने र जागिरे मनस्थितिको न्यायाधिसबाट न्याय मिल्दैन’ उनले भने, ‘म न्यायाधिस हुँ, म कानून व्यवसायी हुँ नभनी दलको झोले बन्ने वा चाकरीबाट छिर्ने प्रवृत्ति अन्न्य गर्नुपर्छ ।’ उनले उच्च अदालतमा कानून व्यवसायीबाटै न्यायाधिस लैजानुपर्ने भएपनि उचित परीक्षा लिएर गर्नुपर्ने बताए । टिपेर लगेको न्यायाधिसले फैसला लेख्न पनि नजानेको उनको टिप्प्णी थियो ।
अदालतको कर्मचारी, सरकारी वलिक, कानुन व्यवसायी र न्यायाधिस समेतमा न्याय दिने भावना बन्नुपर्ने उनको भनाइ छ । कानून व्यवसायीले तर्क र आधार दिन सकेमा कसैको पक्षबिपक्षमा वकालत गरेकै कारण वकिलप्रति हेर्ने दृष्टीकोण नकारात्मक नबन्ने बताए । ‘भारतमा महात्मा गान्धीको हत्या गर्ने नाथुरामको पक्षमा समेत कानून व्यवसायीले वकालत गरेका थिए’ उनले भने, ‘तर ती कानून व्यवसायीले दिएको तर्कले अदालत र आम नागरिक पनि सोच्न बाध्य थिए ।’ नाथुराम बचाउन खोज्नेले पनि कानून व्यवसायीको रुपमा उत्तिकै सम्मान पाएको उनको भनाइ थियो ।
साधारणसभाले सचिव रमेश खड्का र कोषाध्यक्ष रामराजा कंडेलको प्रतिवेदन पास गरेको अध्यक्ष अखिलनाथ शर्माले बताए । उच्च अदालत बार एसोसिएसन बागलुङका अधयक्ष अखिलनाथ शर्माको अध्यक्षता, सचिव रमेशबहादुर खड्काको संचालन र उपाध्यक्ष बलराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कानून व्यवसायी परिषदका सदस्य मुकुन्द अर्याल, बरिष्ठ अधिवक्ताहरु गणेशबहादुर कुँवर, काजी गाउँले श्रेष्ठ, म्याग्दी बारका अध्यक्ष सागरजिवी उपाध्याय, प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर राना, बागलुङ बारका पूर्व अध्यक्षहरु भूमिश्वर गौतम र राजु गौतम, बारकी सहसचिव लक्ष्मी बास्कोटा, तथा लेखापढी व्यवसायीकी अध्यक्ष कल्पना श्रेष्ठसमेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष कंडेलले कुल ५ लाख २३ हजार १ सय ८३ रुपैयाँको आयव्याय हिसाब सार्वजनिक गरेका थिए । कानून व्यवसायीले व्यवसायकालागि प्रस्तावित दररेट पनि सार्वजनिक गरेका छन् ।