बागलुङ, ६ भदौ– ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य पुरस्कृत भएका छन् । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आइतबार एक समारोहका बीच उत्कृष्ट पत्रकारिता गरेको भन्दै आचार्यलाई कालिका पत्रकारिता पुरस्कार दिएको हो ।
हरेक बर्ष दुइ जना पत्रकारलाई दिने पुरस्कारबाट राष्ट्रिय समाचार समितिका संवाददता राम थापा अविरल पनि पुरस्कृत भए । दुवैजना जिल्लामा दशकदेखि पत्रकारितामा सक्रिय छन् । गुठीले ५ हजारको दरले नगद पुरस्कार र प्रमाण पत्रसहित दुवै जनालाई पुरस्कृत गरेको हो । गुठीका अध्यक्ष तथा पदाधिकारीले उनीहरुलाई सम्मान समेत गरेका थिए । गुठीले केही बर्षदेखि पत्रकारलाई कालिका पत्रकारिता पुरस्कार दिन थालेको हो ।
कार्यक्रममा पुरस्कृत थापाले कालिका मन्दिर जिल्लाको पर्यटकीय र धार्मिक गन्तव्य भएकोले पत्रकारितामार्फत धेरै प्रचार भएको बताए । उनले प्रचारकै कारण पनि धेरै भक्तजन आउने, कालिका प्रतिको विश्वास बढ्ने भएको बताए । आगामी दिनमापनि पत्रकारले नियमित समाचार लेखेर कालिकाको प्रवद्र्धनमा साथ दिने बताएका थिए ।