बागलुङ, ७ भदौ– बलेवा कालभैरवको प्रचार–प्रसार र प्रवद्र्धनका लागि पहिलो पटक आयोजना गरिएको हरेलो मेला सोमबारदेखि सुरु भएको छ । बागलुङ नगरपालिकाको पहलमा अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा हरेलो मेला सुरु भएको हो ।
भैरवस्थान मन्दिर पुननिर्माण तथा हरेलो मेला व्यवस्थापन उपभोक्ता समितिले मेलाको आयोजना गरेको हो । मेलाको मूल समारोह मंगलबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘मंगलबार र शनिबार मात्रै पूजा हुने मन्दिरमा सोमबारसमेत पूजाको प्रबन्ध मिलाएका छौँ, मेला हेर्नकै लागि देशभरबाट भक्तजन आउनुभएको छ’, समिति अध्यक्ष राजु हमालले भने, ‘मेला स्थानीय उत्पादनको प्रदर्शन, स्थानीय कला तथा संस्कृतिको सवद्र्धन हुनेगरी मेलाका कार्यक्रम तय भएका छन् ।’
‘पहिलो पटक आयोजना भएको मेलाले भैरवस्थान चिनाउनेछ’, नगर उपप्रमुख राजु खड्काले भने, ‘हरेलोमा भक्तजनको निकै भीड लाग्छ, त्यसको व्यवस्थापनका लागि समेत मेला सहयोगी हुनेछ ।’
मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मंगलबार र शनिबार मात्रै खुल्छ । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि किराफट्यांग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताए ।
यस पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माको भनाई छ । बलेवा कालभैरव प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ ।