बागलुङ, ७ भदौ– लामो समयदेखि बेवारिसे जस्तै रहेको ग्रिनेट नेपाली सेनाले निस्कृय बनाएको छ । तमानखोला गाउँपालिकामा भेटिएको ग्रिनेट नेपाली सेनाले शनिबार निस्कृय पारेको हो ।
तमानखोला गाउँपालिका वडा नम्बर ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा उक्त ग्रिनेट भेटिएको थियो । भेटिएको ग्रिनेट घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्कृय बनाएको हो ।
टेकमायाका ज्वाई मानबहादुर रोकायले ५ महिना अगाडि राख्न दिएको झोला खोली हेर्दा डल्लो बस्तु भेटिएको थियो । उक्त बस्तु ती महिलाले छिमेकीलाई देखाएकी थिइन् । स्थानीयले उक्त बस्तु खतरा हुन सक्ने भन्दै सेनालाई खबर गरेका थिए । उक्त बस्तु राख्न दिने रोकाय भूतपूर्व भारतीय सेनाका जवान हुन् ।
ग्रिनेट भेटिएको जानकारी पाएपछि श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठले डिस्पोजल टोली पठाउनुभएको थियो । टोलीले सफलतापूर्वक निस्कृय पारेकोले केही क्षति नभएको श्रेष्ठले जानकारी दिए ।