म्याग्दी, ८ भदौ– मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढ्ने भएको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् ।
नपाक्दै काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाईएको हो । थासाङ गाउँपालिका वडा नं. २ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको संक्रमण नदेखिएको र फल राम्रो लागेको बताए ।
‘मौसम राम्रो भयो, रोगकीरा देखिएको छैन,’ शेरचनले भने ‘राम्रो फल लागेको छ । पाक्न थालेको छ ।’ थासाङ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताए ।
तुलाचनले कृषि ज्ञान केन्द्रको पाँच लाख र व्यक्तिगत १५ लाखमा २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गर्नुभएको थियो । ‘बगँैचा नै ठेक्कामा लिएका व्यापारीले पाकेको स्याउ टिपेर बजारमा लैजाने तयारी गरेका छन्,’ उनले भने ‘व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या छैन ।’