बागलुङ, ८ भदौ– शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथी उठेर सबै दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् । आस्था र विचारको पछि लागेर मात्रै व्यवहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाई छ ।
पौडेलले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने धारणा व्यक्त गरे ।
मन्त्री पौडेलको गृह नगर बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थानमा प्रथम हरेलो मेलाको उद्घाटन गर्दै कला, संकृतिको संरक्षण र पर्यटनको विकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले बलेवा क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताए । पूर्वाधार विकासका कामसँगै आर्थिक र सामाजिक विकासको क्षेत्रलाई पनि नगरपालिकाले साथै लैजाने श्रेष्ठको धारणा थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, बागलुङ नगरपालिका वडा नम्बर १० का अध्यक्ष तिल बहादुर थापा, वडा नम्बर १३ का अध्यक्ष नारायण शर्मा पौडेल, १४ का अध्यक्ष चक्रबहादुर खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
मेलामा भजन प्रस्तुती, पञ्चेवाजा प्रस्तुती, तीजगीत, छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो । सोमबार र मंगलबार दुई दिन सञ्चालन भएको मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।