बागलुङ, १९ भदौ– पूर्व जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा तोकेभन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवामार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले बागलुङ नगरपालिकाका पुर्व उपप्रमुख सुरेन्द्र खड्का वडा नं. २ का अध्यक्ष जीवन आचार्यसहित ३ कर्मचारीलाई बिशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र राजश्व शाखाका सदस्य सचिव काशीराम शर्मालाई पनि बिपक्षी बनाइएको हो ।
ढुंगागिटी तथा बालुवा बिक्रीबापत आउनुपर्ने रकम मिलेमतोमा कम बोलकबोल गराएको अरोप उजुरीमा छ । प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य बस्तुको कर संकलन गर्दा मिलेमतोमा राजश्व छली गरेको पुष्टी भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
उक्त कामले नगरपालिकालाई हानीनोक्सानी पु¥याएको आरोप अख्तियारले लगाएको हो । बिशेष उजुरीपछि अख्तियारले गरेको अनुसन्धानमा नगरपालिकालाई १७ लाख ४० हजार ६६ रुपैयाँ नोक्सानी पु¥याएको पुष्टी भएको थियो ।
तत्कालिन उपप्रमुख खड्का यसअघि बसपार्क निर्माणको क्रममा भएको एक अर्कै भ्रष्टाचार मुद्दामा पनि तानिएपछि यसअघि नै निलम्बित थिए । आरोपितहरुलाई जनही ३४ लाख ८० हजार १ सय ३२ बिगो भराउन माग गरिएको छ ।