पर्वत, २ असोज– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन् ।
विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्न तथा दुई कोठे र चारकोठे भवन निर्माण गर्नको लागि ती विद्यालयहरूलाई ७ करोड ७९ लाख रुपैयाँ बजेट छुट्टाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
आर्थिक वर्ष २०७९÷८० को का लागि गत बुधबार बसेको मन्त्री स्तरको बैठकबाट छनौटमा परेका देशभरका विद्यालयहरूको सूची सार्वजनिक गरिएको हो । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलका अनुसार सूचना, सञ्चार तथा प्रविधिका लागि ६ लाख ५० हजार, २ कोठे भवन निर्माणको लागि २५ लाख र ४ कोठे भवन निर्माणको लागि ५० लाख रुपैयाँका दरले विद्यालयले रकम प्राप्त गर्ने छन् ।
पर्वतका ५ ओटा विद्यालयले ४ कोठे, १७ ओटा विद्यालयले २ कोठे र १६ ओटा विद्यालयले सूचना, सञ्चार तथा प्रविधि कार्यक्रम पाउने भएका हुन् । सबैभन्दा बढी बिहादी, जलजला गाउँपालिका र फलेवासका ७÷७ वटा विद्यालयहरू यो कार्यक्रममा छनौट भएका छन् ।
बिहादीको १ विद्यालयले ४ कोठे भवनका लागि ५० लाख, ४ विद्यालयले २ कोठे भवनका लागि २५ लाखका दरले १ करोड र २ विद्यालयले सूचना, सञ्चार तथा प्रविधि विकास कार्यक्रमअन्तर्गत ६ लाख ५० हजार रुपैयाँका दरले रकम पाउने भएका हुन् ।
जलजला गाउँपालिकाका ३ विद्यालयमा आईसिटीका लागि १९ लाख ५० हजार, ३ विद्यालयमा २ कोठे भवन निर्माणका लागि ५० लाख र एक विद्यालयमा ४ कोठे भवनका लागि ५० लाख रुपैयाँ गरी १ करोड १९ लाख ५० हजार रुपैयाँ लगानी हुन लागेको हो फलेवासका २ विद्यालयमा ४ कोठे भवनका लागि १ करोड, २ कोठे भवनका लागि ३ विद्यालयलाई ७५ लाख र २ विद्यालयले आईसिटीका लागि १३ लाख बजेट पाउने छन् ।
यसैगरी, पैयुँका २ विद्यालयलाई २ कोठे भवनका लागि ५० लाख र १ विद्यालयमा आईसिटीको लागि ६ लाख ५० हजार गरी कुल ५६ लाख ५० हजार, महाशिलाका २ विद्यालयलाई आईसिटीका लागि १३ लाख तथा २ कोठे भवनका लागि २५ लाख रुपैयाँ गरी कुल ३८ लाख रुपैयाँ दिन लागिएको छ ।