म्याग्दी, २ असोज– जिल्लाको धौलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जाडमा बहुमूल्य कार्ज ढुंगाखानी उत्खननमा राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा परेको छ ।
खानी तथा पुरातत्व विभागले एक दशकअघि उक्त ढुंगाखानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको हो ।
गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा वर्षौंअघि पहिचानमा आएको कार्ज ढुंगाखानी आवश्यक उपकरणको अभाव, राज्यको अनुमति नहुनु र स्थानीयवासीको उदासिनताका कारण उत्खनन हुन नसकेको गुर्जावासीको भनाई छ ।
सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने कार्ज ढुंगाको माग बजारमा अत्यधिक रहेको जानकार बताउँछन् । गुर्जा गाउँको घुर्मखोला वरपरका पहाडमा बहुमूल्य पत्थर भएको स्थानीय देवबहादुर विकले बताए ।
कार्जस्टोनको जेम्स क्वालिटीलाई मिलिग्रामकै लाखौँ रुपैयाँ पर्ने नेपाल सुनचाँदी तथा आभूषण व्यवसायी बताउँछन् । खानीबाट प्रारम्भिक चरणमा निकालिएका ढुंगामध्ये औसतमा एकदेखि १५ प्रतिशतसम्म हुनसक्ने व्यवसायीको भनाई छ ।
‘जेम्स क्वालिटी’ अर्थात् गहनामा प्रयोग गर्न मिल्ने स्तरका ढुंगा आभूषणमा प्रयोग हुन्छन् भने बाँकी ढुंगा सौन्दर्य प्रसोधनमा प्रयोग हुने गर्छन् । नेपाल सुनचाँदी तथा आभूषण महासंघका अनुसार त्यस्ता ढुंगाको प्रति १० ग्रामको मूल्य १० लाख रुपैयाँभन्दा बढी पर्छ ।
कच्चा स्वरूपमा पाँच सयदेखि तीस हजार रुपैयाँसम्म पर्ने यस्ता ढुंगा प्रशोधन भएर जेम्स क्वालिटीमा पुगेपछि ग्राम र क्यारेटमा बिक्री हुन्छ । विगतमा खानी सञ्चालकले कच्चा स्वरूपमा नै यस्ता ढुंगाको निर्यात गर्ने गरेका थिए ।
दुई वर्षदेखि सरकारले कच्चा स्वरूपका यी खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ । खानी नियमन गर्न भरपर्दो कानुन नभएका कारण नयाँ नीति ल्याएर मात्र बिक्रीवितरण गर्ने र निकासी गर्ने भन्दै रोकिएको बताइएको छ ।