बागलुङ, १४ असोज– नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार ९कुमार०की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।
गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।
नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ । तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ ।