बागलुङ, १७ असोज– बडादशैँको आठौ दिन अर्थात् महाष्टमी पर्व । आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ ।
महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।
देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ ।
महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् ।
अष्टमी र नवमीमा शक्तिपीठमा घुइँचो बढ्छ । यस्तै बागलुङस्थित कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्य शक्तिपीठ हुन् ।