पोखरा, २८ असोज– गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोह गरी प्रतियोगिताको उद्घाटन हुनेछ ।
आज दिउँसो ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् ।
यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ । प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यस पटक विभागिय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् । यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छभने केही खेल सुरु भइसकेका छन् ।