बागलुङ, १ कात्तिक– बागलुङमा जारी नवौं राष्ट्रिय खेलकुँदको तेस्रो दिन सम्म पुग्दा नेपाल आर्मीको अग्रता कायमै छ । सोमबार भने आर्मीले स्वर्णपदक जित्न सकेन ।
सोमबार भएका बिभिन्न खेल मध्ये दुइवटा खेलमा गण्डकी प्रदेश र अर्का दुइ खेलमा बागमती प्रदेशले स्वर्ण पदक जितेका छन् । सोमबार सबै स्पाइरिङ तर्फका खेल भएका थिए ।
आइटिएफ महासंघकी महासचिव अञ्जु रावतले दिएको जानकारी अनुसार ४६–५० केजी तौल समूहको पुरुष स्पाइरिङ खेलमा गण्डकी प्रदेशका खगेन्द्र घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । घर्तीले कर्णालीका मिलन धामीलाई पराजित गरेका थिए । धामीले रजत पदकमा चित्त बुझाए । घर्तीले फाइनल प्रवेश गर्दा आर्मीका पूर्णबहादुर मगरसँग तीनपटक सम्म बराबरी खेल खेलेका थिए । अन्तिममा टस जित्दा उनको फाइनल यात्रा तय भएको थियो । उक्त खेलमा नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य पदक पाए ।
महिला स्पाइरिङ तर्फपनि गण्डकीले स्वर्णपदक जित्न सफल भएको छ । सोमबार भएको ४६–५० केजी तौल समूहको महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण जितेकी हुन् । उक्त खेलमा प्रदेश १ की इन्दिरा थापालाई रजत पदक प्राप्त भयो । लुम्बिनीकी पुजा रसाइली र कर्णालीकी कमला बिकले कास्य पदक जिते ।
बागमतीका रिक्सन वाइवाले नेपाल आर्मीका प्रेमकुमार मगरलाई जितेर सोमबारै ५१–५५ केजी तौल समूहको स्वर्ण पदक हात पारे । वाइवाले स्वर्ण चुम्दा नेपाल आर्मीका प्रेमकुमार मगरले रजत पदकमा चित्त बुझाए । उक्त खेलमा लुम्बिनीका अर्जुन नेपाली र सशष्त्र प्रहरीको एपिएफका सुनिल महतोले कास्य पदक जिते ।
पुरुषकै ५६–६० केजी तौल समूहको स्पाइरिङमा बागमतीकै अनिल तामाङले स्वर्ण पदक जिते । गण्डकीका प्रविण बुढामगरले रजत पदक पाउन सफल भए । उक्त खेलमा एपिएफका सुमन राना मगर र लुम्बिनीका हेमराज डा“गीले कास्य पदक जितेका छन् ।
अहिले सम्म ७ स्वर्ण सहित आर्मी पहिलो स्थानमा छ । बागमतीले ५ स्वर्ण र गण्डकीले ३ स्वर्ण पदक पाएर क्रमश दोश्रो र तेस्रँे स्थ्ाँन बनाउन सफल भएका छन् । अन्य प्रदेश र बिभागीय टिमले स्वर्ण जित्न सकेका छैनन् । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र नेपाली सेनाको श्रीमेहर गणका प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठले बिजयी खेलाडीलाइ मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।