म्याग्दी, २ कात्तिक– जिल्लाको अन्नपूर्ण गाउँपालिका काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरनाहँुदै बाजाढुंगासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो ।
यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए ।
रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको शसर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा २० लाख विनियोजन गरेको थियो । अनुदान बाहेक थप दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए ।
काभ्रे गाउँको बेनी–जोमसोम सडकदेखि रुप्से झरनाहुँदै बाजाढुंगा जोड्ने उकालो बाटोमा करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४ सय मिटर रेलिङ राखिएको छ ।
पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुंगा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुंगासम्म पुग्ने साँघुरो र जोखिमयुक्त बाटो पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।