बागलुङ, ३ कात्तिक– बागलुङमा संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधवार सम्पन्न भएको छ । बागलुङमा आयोजित आइटिएफ प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लब सबैभन्दा धेरै पदक जितेर प्रथम भएको छ ।
आर्मीले १३ स्वर्ण, ८ रजत र ३ कास्य गरी २४ पदक पाएर प्रथम स्थान हासिल गरेको हो । हरेक खेलमा आर्मीले उत्कृष्ठ खेल देखाएको थियो । प्रतियोगितामा बागमती प्रदेशले ६ स्वर्ण ३ रजत र ३ कास्य गरी १२ पदक पाएर दोश्रो भयो भने ५ स्वर्ण, ७ रजत र २ कास्य गरी १५ पदक पाएर तेस्रो भयो ।
प्रतियोगितामा प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्यो । लुृम्बिनीले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक हात पारेको छ । सशष्त्र प्रहरीको एफिएपले १ स्वर्ण ३ रजत र २ कास्य पदक जित्दा कर्णालीले २ रजत र २ कास्य पदक जितेको छ । बिभागीय टिम पुलिसले ४ कास्य पदक मात्रै पायो । मधेश प्रदेशले १ कास्यमा चित्त बुझाउँदा सुदुरपश्चिम पदक बिहिन बन्न पुग्यो ।
बुधवार पनि तीन वटा एकल स्पाइरिङ तथा दुइवटा समूह स्पाइरिङका खेल भएका थिए । ७०–८० केजी तौल समूहको पुरुष स्पाइरिङ खेलमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण पदक जिते । सशष्त्रको एपीएफका सन्जेसकुमार तामाङले रजत पदक पाए । उक्त खेलमा प्रदेश १ का डिलन राइ र गण्डकीका मिथुन घर्तीमगरले कास्य पदक पाएका छन् । ८१–८५ तौल समूहको खेलमा प्रदेश नंं १ का बिरबहादुर तामाङले स्वर्ण पदक जिते । उनले गण्डकीका सोमबहादुर गुरुङलाई जिते । गुरुङले रजत पदकमा चित्त बुझाए । उक्त खेलमा बागमतीका राजेश बस्नेत र मधेसका सुवास चौधरीले कास्य पदक पाए । ८५ केजी भन्दा माथीको खेलमा गण्डकीका राजन रसाइलीले स्वर्ण पदक पाएका छन् । उनले आर्मीका सुदिप आचार्यलाई पराजित गरे । आचार्यले रजत पदकमा चित्त बुझाए । उक्त खेलमा प्रदेश १ का संदिप तामाङ र बागमतीका समिर श्रेष्ठले कास्य पदक पाए ।
पुरुष तर्फ ७२–७५ केजी तौल समूहको खेलमा प्रदेश नंं १ का रोशन मगरले स्वर्ण पदक पाए । उक्त खेलमा आर्मीका गेडबहादुर बस्नेतले कास्य पदक पाएका थिए । उक्त खेलमा कर्णालीका महेन्द्र बुढाथोकी र पुलिसका जीवन घर्ती मगरले कास्य पदक पाए । बुधवारै भएको पुरुष समूह स्पाइरिङमा आर्मीले स्वर्ण पदक जित्दा बागमती प्रदेशले रजत पदकमा चित्त बुझायो । महिला समूह स्पाइरिङमा बागमतीले स्वर्ण र आर्मी रजत पदक पायो ।