बागलुङ, ४ कात्तिक– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा सञ्चालन हुने भएको छ । बिहिबार बसेको जिल्ला मतदाता शिक्षा समन्वय समितिको बैठकले कात्तिक १८ गतेदेखी १५ दिनसम्म मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बिषयमा सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । उनका अनुसार निर्वाचन आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहलाई मतदाता शिक्षा सञ्चालनको जिम्मेबारी दिईएको छ ।
स्थानीय तहकै स्रोत साधन र जनशक्ति परिचालन हुनेगरी मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने कार्यविधि निर्वाचन आयोगले बताएको छ । कम्तिमा एसएली पास गरेको महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गर्ने र विद्यालयका प्रधानाध्यापकहरुले त्यसको अनुगमन गर्ने विधि बनाईएको छ । यसपटकको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरु मात्रै उपलव्ध गराउने जनाएको छ । धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको आयोगले जनाएको छ ।