म्याग्दी, ६ कात्तिक– पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ मा स्थित घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् ।
विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको होटल व्यवसायीले बताएका छन् ।
विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिए ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि ३ हजार दुई सय १० मिटर उचाइमा पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन् । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताए ।
‘दसैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । पर्यटक घान्द्रुक र अन्नपूर्ण बेसक्याम्पबाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्’, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले भने ।