२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

पहिरोको जोखिमले रायडाँडाको एउटा बस्ती रित्तिदै


जनमञ्च संवाददाता
  • ८ कार्तिक २०७९ , मंगलबार

  • पहिरोको जोखिमले रायडाँडाको एउटा बस्ती रित्तिदै

    बागलुङ, ८ कात्तिक– गत भदौको दोश्रो साता खसेको पहिरो थपिंदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएकाहरु फर्कन सकेका छैनन् ।
    बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरे ।
    पानी पर्दा वा नपर्दापनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दशैको झरीले थप क्षति पुगेको छ । यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका ८ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांस खेतबारी र घरगोठ बगेकोले पुनस्थापना समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जवरजस्ती बसाल्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
    ‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’ स्थानीय ७८ बर्षिय ढालनाथ शर्माले भने, ‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ?’ उनको घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्यांकी पनि बगेको थियो । अहिले पनि स्थानीयले टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिंदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो ।
    पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिंचाइ योजनाको कुलो बगेकोले सिंचाइ छैन । ‘यतिको ठूलो पहिरो अहिले सम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’ स्थानीय बिष्णु पौडेलले भने, ‘खानेपानी र बिजुली नभएको दशै मान्नु प¥यो ।’ पहिरो पीडितलाई दशैमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए ।
    ‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०÷१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौ ।’ एकीकृत बस्ती भएमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उनले बताए ।
    ‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘दिर्घकालिन योजना बनाएर अन्य बस्तीको पनि पुनस्थापना खोज्नु पर्ने भएको छ ।’ किसानको खरवारी र सुन्तला लगाएको बारी समेत सयौं रोपनी बगेको छ । पहिरो गएको बेला धेरैले पुगेर अनुगमन गरेपछि बिर्सदै गएको स्थानीय बीरबहादुर थापाले गुनासो गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend