२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आज गोवर्धनपूजा र गोरुपूजासंगै नेपाल संवत्अनुसार नयाँ वर्ष शुरु


जनमञ्च संवाददाता
  • ९ कार्तिक २०७९ , बुधबार

  • आज गोवर्धनपूजा र गोरुपूजासंगै नेपाल संवत्अनुसार नयाँ वर्ष शुरु

    बागलुङ, ९ कात्तिक– कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा । बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ ।
    द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।
    भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।
    गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ । यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।
    उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ । उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ ।
    बुधबार नै गोरुको पनि पूजा गरिँदैछ । गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ । नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ । गोवर्धनपूजालाई हलीतिहार पनि भनिन्छ ।
    नेपाल संवतअनुसार लाग्यो ११४३, नेवार समुदायमा आज म्हपूजा


    नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ । बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो ।
    राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत् ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ । त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो । यो नेपालको नाममा रहेको मौलिक संवत् हो ।
    यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ । नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ ।
    कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।
    २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसको ९वर्षपछि २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।


    यसैबीच, नयाँ वर्षको दिन नेवार समुदायमा म्ह (आत्म) पूजासमेत गरिन्छ । आत्मा नै सबैभन्दा महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ ।
    प्रतिपदा तिथि लागेकाले केही स्थानमा मंगलबार नै नयाँ वर्षको स्वागत गर्नुका साथै म्हपूजा पनि गरिएको छ । बुधबार अपराह्न ३ बजेर ११ मिनेटपछि द्वितीया लाग्ने भएकाले कतिपयले मंगलबार नै म्हपूजा गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend