बागलुङ, ९ कात्तिक– नेकपा एमाले बागलुङले चुनावी घोषणाकालागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर १ ले पत्रकार सम्मेलन गरेर एमालेले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, सूर्य पाठक, कृष्ण केसीले संयुक्त रुपमा उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिवद्धतापत्र भित्र बिशेष प्रतिवद्धता भन्दै एमालेले सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशिलताको ग्यारेन्टी, सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्जा, किसानलाई पेन्सन, बिउदेखी ढुवानीसम्म अनुदान, मेडइन बागलुङको ब्राण्डिङ र बजारीकरण, उत्पादनमा सहजीकरण भन्ने नारा तय गरेको छ ।
यस्तै, वृद्ध भत्ताको निरन्तरता, घरघरमै स्वास्थ्य सेवा र बिशेष भत्ता, व्यवसायिक सुरक्षा संचालन र कर प्रणालीमा सरलता, निशुल्क इन्टरनेट र गुणस्तरीय शिक्षाको सुनिश्चितता, रोजगारी र स्वउद्यमको प्रत्याभूति प्रविधिमैत्री जिल्लाको अनुभूत, जहाँ बिभेद उत्पीडन र बिपत्ती त्यहाँ एमालेको उपस्थिति भन्ने नारा समेटेको प्रतिवद्धता सार्वजनिक गरिएको हो ।
लोकप्रियताका लागि उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माण गर्ने, राष्ट्रिय राजमार्गहरु स्तरीय बनाउने, गाउँ गाउँमा जाने सडकहरु ग्राभेल गर्ने लगायतका प्रतिवद्धता छन् । तर कतिपय प्रतिवद्धताहरु ५ बर्ष अघिकै दोहोरिएका छन् ।
पत्रकारको जिज्ञाशामा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले समग्र जिल्लाका समस्यालाई एउटा पार्टीले मात्र समाधान गर्न नसकिने भन्दै सबै दल र नेताको पनि चासोको बिषय भएकोले संसददेखि सडक हुँदै सामुहिक दवावबाट पुरा गर्न पहल गरिने बताए ।
कार्यक्रममा पोलिटव्युरो सदस्य मनकुमारी केसीले नागरिकलाई सुखी र समृद्ध बनाउन आफ्नो पार्टी मात्रै सक्ष्म भएको भन्दै फेरीपनि राष्ट्रियता जोगाउन एमाले चाहिएको दाबी गरेकी थिइन् ।