१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले हुन्छ उडान ?

पोखरा विमानस्थल: धावनमार्ग उडान भर्न तयार, तर उडान अनिश्चित


जनमञ्च संवाददाता
  • १४ कार्तिक २०७९ , सोमबार

  • पोखरा विमानस्थल: धावनमार्ग उडान भर्न तयार, तर उडान अनिश्चित

    पोखरा, १४ कात्तिक – भौतिक निर्माणका हिसाबले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडान भर्न तयार छ। तापनि उडान कहिले सुरु हुन्छ भन्ने यकिन छैन।

    धावनमार्ग, टर्मिनल भवन र अरू उपकरणको चाँजोपाँजो सबै मिले पनि कतिपय प्राविधिक समस्या यथावत् छन्। उडानको तयारी पूरा भएको छैन।   पूर्वतर्फ रहेको रिठेपानी डाँडा कटान अझै सुरु गरिएको छैन। विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मी आउँदो १५ दिनमा डाँडा कटान सुरु हुने बताउँछन्। अझै महत्वपूर्ण कुरा विमानस्थलनजिककै ल्यान्डफिल्ड साइट सार्न बाँकी छ।

    पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइटको विकल्प तयार पार्न सकेको छैन। मेयर धनराज आचार्य फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल्ड साइटभन्दा पनि नयाँ विकल्प खोजी गरिरहेको बताउँछन्। त्यसक्रममा उनले फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौंडा हुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरेका छन्।

    विमानस्थल आयोजना प्रमुख मुनकर्मीका अनुसार डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात् क्यालिब्रेसन उडान गरिनेछ। ‘नोभेम्बर, डिसेम्बरभित्रै क्यालिब्रेसन उडान हुन्छ,’ उनी भन्छन्। त्यसपछि नै अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्य पुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी हो।

    आयोजनाले उडान सुरु गर्ने भने पनि कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पोखराबाट जहाज उडाउने चासो देखाएका छैनन्। क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने बताउँछन् मुनकर्मी। तर, पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन। त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो। सरकारले त्यसबारे कूटनीतिक पहल गर्न सकेको छैन।

    विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक बनेको छैन। तेल भर्न आयल डिपो बनेको छैन। नेपाल आयल निगमलाई जग्गा छुट्ट्याएर तीन वर्षदेखि तोकेता गरेको मुनकर्मी बताउँछन्। ‘उहाँहरुले २७ हजार लिटरको साधन तयार पारेका छौं भन्नुभएको छ,’ उनी भन्छन्। अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ।

    स्वदेशी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गरी भारतका सीमा सहरमा सेवा दिन रुचि देखाएको थियो। तर, पछिल्लो समय बुद्धले कुनै पहल वा प्राधिकरणसँग सम्झौता या समझदारी गरेको छैन।
    पोखरा विमानस्थल सञ्चालन गर्न सबैभन्दा महत्वपूर्ण भनेको ल्यान्डफिल्ड साइट सार्नुपर्ने हो। तर, नयाँ ठाउँ खोजिवरि पोखरा महानगरपालिकाले कार्यान्वयन गर्न थुप्रै समय लाग्ने देखिन्छ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने र यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव नभएको भन्दै आलोचना पनि हुँदै आएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend