बागलुङ, २९ कात्तिक– बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आगामी मंसिर पाँच गतेदेखि न्वागी खाने पर्व हुँदैछ । वर्षेनि धानबाली भित्राएपछि मंसिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ ।
गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । विसं. १७३४ सालदेखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–५ खारमा यस्तै एक पर्व मनाईन्छ । जहाँ पुर्खाको योगदान, सहयोगि भवना र स्थानस्यको खुसी समेटिएको छ ।
१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौवीसी राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भु–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो । साथै, दगाको केही क्षेत्र मुसिकोटको मौजा समेत रहेको इतिहास छ ।
सोही इतिहाससंग जोडिएको पौदीं क्षेत्रको आफ्नो छुट्टै ईतिहाँस रहेको छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनिहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पनि भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का स्थानिय कृष्ण बहादुर घिमिरेले बताए । ‘रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ’ घिमिरेले भने ।
मध्यकालिन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रम्मा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आईपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुशीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाए ।