बागलुङ, २९ कात्तिक– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरी बनेकी बागलुङकी कुमारी थापाले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा मुस्कुराउँदै दुई प्याकेट सेनेटरी प्याड लिईन् । युवा अवस्थाकी थापालाई निर्वाचनको समयमा काममा खटेकै बेला रजस्वला होलाकी भन्ने चिन्ता थियो । प्याड पाएपछि उनी खुसी छन् ।
कार्यालयले खटाएको ठाउँमा जिम्मेबारी पुरा गर्दै गर्दा रजस्वला भएमा कसरी व्यवस्थापन गर्ने ? भनेको ठाउँमा सेनेटरी प्याड पाईएलाकी नपाईएला ? भन्ने भय थियो । तर, कुमारीको यो भय सकिएको छ । सुरक्षाका लागि कार्यस्थलमा जाँदा बोक्नुपर्ने बन्दोबस्तीका सामग्रीसँगै थापाको झोलामा सेनेटरी प्याड र केही अत्यावश्यक औषधि हुने छ । उनले चाहिएको बेला प्रयोग गर्न सक्छिन् ।
कुमारी थापा जस्तै बागलुङमा निर्वाचनको समयमा कार्यस्थलमा खटिने २ सय ५१ जना म्यादी र ६७ जना महिला प्रहरी छन् । उनीहरु सबैको समस्या एउटै हो । काममा खटिनुपूर्व एक एक प्याकेट सेनेटरी प्याड र केही अत्यावश्यक औषधि पाएपछि महिला प्रहरी खुसी भएका छन् । महिला प्रहरीका लागि अत्यावश्यक प्याड र औषधिको प्रबन्ध आदर्श सञ्चार सहकारी, नर्वदा ट्रेडर्सले मिलाएको हो । दाताहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सबै महिला प्रहरीलाई एक पटकका लागि पुग्नेगरी प्याड उपलव्ध गराएको छ ।
‘निर्वाचन रोकिएर पछि सर्न सक्ला तर रजस्वला रोकिँदैन्’ आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमकुमारी जिसी अञ्जुले भनिन् ‘कार्यस्थलमा महिला प्रहरीका लागि महिनाबारीका कारण असहज नहोस् भनेर सहकार्य गरेका हौं ।’
दाताहरुले सहयोग गरेका सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी प्रमुख दयानिधी ज्ञवालीले निर्वाचन सफल बनाउन सरोकारवाला साथमै रहेको सन्देश प्राप्त भएको बताए । उनले सांकेतिक रुपमा सहयोगले महत्वपूर्ण अर्थ राख्ने बताए ।
कार्यक्रममा रामरेखा सामुदायीक प्रहरीका अध्यक्ष दुर्गाबहादुर आचार्य, पत्रकार महासंघका कार्यबहाक अध्यक्ष नविन शिशिर बिक, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसी लगायतले बोलेका थिए । इन्सेक बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङले कार्यक्रमको समन्वय गरेका थिए । सहकारी र ट्रेडर्सले ३ सय प्याकेट सेनेटरी प्याड र प्राथमिक उपचारमा प्रयोग हुने औषधिहरु सहयोग गरेका हुन् ।