बागलुङ, ९ मंसिर– संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका बागलुङका १ हजार १ सय ३७ जना म्यादी प्रहरीलाई बिहिबार बिदाई गरिएको हो ।
प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार अनुकुलता हेरेर जिल्लाका सबै म्यादी प्रहरीहरुको बिदाई गरिएको हो । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले छोटो तालिमको अनुभवबाट उत्कृष्ट कार्य सम्पादन गरेको उनले बताए ।
बिदाईमा जिल्ला प्रहरी कार्यालयले ‘केक’काटेर म्यादी प्रहरीको सम्मान गरेको थियो । म्यादी प्रहरीको बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले छोटो समय राष्ट्रसेवा गर्न पाएको गर्व गर्न आग्रह गर्दै शान्तिपूर्ण निर्वाचनका लागि भुमिका खेलेको भन्दै धन्यवाद दिए ।
जिल्ला प्रहरी प्रमुख दयानिधी ज्ञवालीले छोटो समयको भएपनि म्यादी प्रहरी राष्ट्रसेवक भएको बताए । ‘आजदेखि तपाईंहरु पूर्वप्रहरी हुनुभयो, हामीले ३०–३४ बर्ष राष्ट्रसेवा गरेपनि पूर्व प्रहरी हुने हो, तपाईंहरुले ४० दिन गर्दाको पनि राष्ट्रसेवक नै हो’ ज्ञवालीले भने ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले म्यादी प्रहरीको भूमिकाको प्रशंसा गरे । बागलुङमा २५१ महिला र ८८६ जना पुरुष म्यादी प्रहरी थिए । उनीहरुले तलव, रासन, पोषाक लगायतका सुविधा पाईसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख कृष्ण कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बागलुङका प्रमुख बिनय चर्तुबेदी, पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर बिक, धौलागिरी अस्पतालका डा. मोनिका गुरुङ लगायतले बोलेका थिए । बिदाईपछि सबै म्यादी प्रहरी बिहिबार नै घर फर्किएका छन् ।