तस्बिर गुगलबाट
बागलुङ, १२ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङमा ४ दशमलब ५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर संख्या कम भएको हो ।
बागलुङमा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । उनका अनुसार मत बदर संख्या घटाउने आयोगको तयारी भएपनि नागरिकको राजनीति प्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्दा मत बदर भएको हो ।
स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर संख्यामा उल्लेख्य मात्रमा सुधार भएको डा. भट्टले बताए । बागलुङ १ मा ५४ हजार सात सय ११ र क्षेत्र नम्बर २ मा ५१ हजार १ सय ३५ मत खसेको थियो । जिल्लामा ५३ प्रतिशत मत खस्दा ४ हजार ७ सय ८९ मत बदर भएको छ ।
बागलुङ १ मा ५४ हजार ७ सय ११ मत खसेकामा १ हजार ७ सय १४ मत बदर भई ५२ हजार ७ सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नम्बर २ मा ५१ हजार १ सय ३५ मत खस्दा ३ हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन
मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । २०७४ को तुलनामा बदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।
समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ । ८६ हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ मत खसेको थियो । कुल खसेको मत संख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिक र सुरक्षाकर्मीलगायत अस्थायी मतदाताको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार ६ सय ९९ मत खसेकोमा ४७ हजार छ सय १४ सदर र दुई हजार ८५ अर्थात् चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकोमा २ हजार छ सय ४६ मत बदर भएको छ ।
सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६ दशमलब ५८ प्रतिशत मत बदर भएको छ । ४९ हजार ४ सय ५० मत खसेकोमा ४६ हजार चार सय ८० मत सदर र तीन हजार ६० मत बदर भएको छ । प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार सात सय आठ मत खसेकोमा २७ हजार ७ सय ४९ सदर र नौ सय ५९ मत बदर भएको छ । प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकोमा सात सय ४८ अर्थात् ३ दशमलब ६९ प्रतिशत मत बदर भएको छ ।