बागलुङ, १३ मंसिर– जिल्लामा पाक्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् ।
औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका किसान टोपबहादुर खड्काले बताए ।
‘बर्सेनि समस्या बढ्दै आएको छ आँैसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ’, खड्काले भने, ‘झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।’
सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञान केन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताए ।
औँसाको जीवनचक्र अध्ययन गर्न ज्ञान केन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औँसा राखेको छ । माटोमा राखेको छ दिनमा प्युपाबाट लार्भा भएको र कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढीभन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको भट्टराईले जानकारी दिए ।
जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रणका लागि एक÷दुई जना कृषकले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएकोले अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा कृषकहरुले जोड दिएका छन् । –रासस