बागलुङ, १३ मंसिर– गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । गलकोटे राजाको दरबारसमेत जोड्ने पुल निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् ।
गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुंगे पुल जीर्ण भएपछि केही बर्षदेखि पैदलयात्रीले सास्ती खेप्दै आएका थिए । जीर्ण बनेको झोलुंगे पुल गतबर्ष मर्मतपछि चल्न थालेको छ भने सोही पुलकै छेवैमा मोटरेवल पुल बनेपछि सवारी चल्न थालेका छन् ।
दरमखोलामाथी ‘राजाको पुल’ बनेपछि बर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुंगे पुलमा यात्रा गरेकाहरुले सवारीसाधन लिएर यात्रा गर्न सक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।
यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारी साधनले भैंसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । पर्यटकीय गन्तव्यको रुपमा परिचित हरिचौरस्थित गलकोटे राजाको दरबारमा दैनिक घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको लागि पक्की पुल उपयोगी हुने हमालको भनाई छ ।
‘पहिला खेतीपातीको काम गर्नुपर्दा घुमाउरो बाटो हिंड्नुपथ्र्यो, अहिले सजिलो भयो’ स्थानीय सरिता निउरेले भन्नुभयो, ‘अहिले हटिया बजार जानु परेपनि पैदलै १५ मीनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको निउरेले बताउनुभयो ।
यसअघि बनेको गौदीखोला पुल नियमित भएकोले हरिचौर, हटिया र ताराखोलासम्म दैनिक आउजाउ गर्न सहज भएको हो । गौंदीखोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साँढे तीन करोड र दरमखोला पुल जय बाबा गोरखा÷ओखलढुंगा संयुक्त निर्माण कम्पनीले ५ करोड ९ लाखमा बनाएको हो ।
तत्कालिन गलकोटे राजाको पालामा बनेका पुल भत्केर जीर्ण भएपछि कतिपयको भंगावशेस समेत मेटिएको छ । गलकोट नगरपालिकाले आफ्नो आन्तरिक श्रोतसहित गण्डकी प्रदेशको संयुक्त लगानीमा पुराना झोलुंगे पुल बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।