बागलुङ, १४ मंसिर– नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले सोमबारदेखि लागु हुनेगरी १५ दिनका लागि नयाँ सदस्यता खुल्ला गरेको हो ।
महासंघको बिधान अनुसारको योग्यता पुगेका क्रियाशिल पत्रकारले नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने कार्यबहाक अध्यक्ष नविन शिशिर बिकले बताए । पत्रकार महासंघले तयार पारेको आवेदन फाराम भरेर आवश्यक कागजातसहित तोकिएको शुल्क तिरेर इच्छुक पत्रकारले सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।
बैठकले पाँच दिनको अबधि राखेर नविकरण नभएका सदस्यहरुलाई नविकरणका लागि समय दिएको छ । यसअघि गत चैतमा अन्तिम पटक नविकरणको मिति तोकेको शाखाले केन्द्रीय समितिको परिपत्रका आधारमा पाँच दिनको म्याद राखेर नविकरण खुल्ला गरेको हो ।
बैठकले पुस २ गते साधारण सभा गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघको साधारणसभा पुस ७ र ८ गते हुने भएकाले त्यसअघिनै जिल्ला शाखाको साधारणसभा गर्न लागिएको हो । साधारणसभामा पत्रकार महासंघ बागलुङमा स्थापना भएका सबै पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णयसमेत भएको शाखाले जनाएको छ ।