म्याग्दी, १५ मंसिर– जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर संग्राहलय स्थापना गरिएको छ । ८० लाख खर्चेर स्थापना गरिएको संग्राहलयमा सरकारी निकायको १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संग्राहलय सञ्चालन गरिएको हो । संग्राहलयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मंगलबार उद्घाटन गरिन् ।
संग्राहलय निर्माणका लागि संस्थागत र व्यक्तिगत रूपमा ८१ लाख ८३ हजार एक सय ३८ रुपैयाँ सहयोग जुटेको र ८० लाख ३९ हजार तीन सय ४५ रुपैयाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले जानकारी दिए ।
‘अन्नपूर्ण गाउँपालिकाले सात लाख र प्रदेश सरकारले पाँच लाख सहयोग गरेका छन्’, गर्बुजाले भने, ‘बाँकी स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । एक लाख ४३ हजार सात सय ९३ रुपैयाँ बचत भएको छ ।’
कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्राउने उद्देश्य राखिएको छ । करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर संग्राहलयमा राखिएको बताए ।
संग्राहलयमा म्याग्दीमा बसोबास गर्ने पुन समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहना लगायतका सामग्री संकलन गरेर राखिएको छ । पुराना पुस्तक र धातुका सिक्का पनि संग्राहलयमा अवलोकन गर्न सकिने पुनले बताए ।