मुस्ताङ, १६ मंसिर– जिल्लामा तीन जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभातर्फ दुई जना र प्रदेश सभातर्फ एक जनाको धरौटी जफत भएको सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा खसेको मतको १० प्रतिशत पाउन नसकेमा उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रवधान रहेको हो । मुस्ताङमा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रवीण शेरचनको जमानत जफत भएको आचार्यले बताए ।
प्रतिनिधि सभातर्फ मुस्ताङमा १० हजार ९ सय ५७ मतदाता मध्ये ७ हजार २ सय ५८ मत खसेको थियो । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत अर्थात् १.२ प्रतिशत र राप्रपा नेपालका उम्मेदवार प्रवीण शेरचनले १३ मत अर्थात ०.१८ प्रतिशत प्राप्त गरेका थिए ।
यसैगरी मुस्ताङ प्रदेश(२)मा राप्रपा नेपालका एक्ली महिला उम्मेदवार कर्म डोल्कर गुरुङको पनि धरौटी जफत भएको छ । ७ हजार ४ सय १४ मतदातामध्ये ५ हजार ३ सय ४६ मत खस्दा राप्रपा नेपालकी उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत अर्थात ०.८७ प्रतिशत प्राप्त गरेकी थिइन् । मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमिएका थिए ।