बागलुङ, २० मंसिर– बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ ।
बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामाग्री तत्काल हटाउन चेतावनी दिएको बागलुङ नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरेले जानकारी दिए ।
‘पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौं, दोश्रो पटक भेटिएका सामान उठाएका छौं’ घिमिरेले भने, ‘अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ ।’ ठेलागाडा उठाउन थालेपछि कतिपयले लुकाएका थिए ।
घर छेउमा फालिएका फोहोर, ढुंगामाटो र गिटी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्रयाक्टरमा सामान उठाइएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यापारिक प्रयोजनका घुम्ती पसलसमेत उठाइएको हो । सदरमुकामस्थित बागलुङ बजारमा तीन सयबढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले बताए ।
ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग बाणिज्य संघले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गर्दै आएका छन् ।
सडक अबरुद्ध हुने गरी ठेलागाडाले सामान राख्दा ट्राफिक जामको समस्य पनि बढ्दै गएको छ । बागलुङ बजारमा फुटपाथ छैन । साँघुरो सडक, दायाबायाँ सवारी साधन रोकिदिने र निर्माण सामाग्री समेत जथाभावी राखिंदिदा पैदलयात्रीले सास्ती खेपेका छन्भने दुर्घटनाको जोखिम समेत बढेको छ ।