बागलुङ, २१ मंसिर– कालोपत्रे भएको छ वर्ष नबित्दै जीर्ण बनेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती आउँदो वर्षात्अघि हट्ने भएको छ ।
रुग्ण सडकलाई पुरानै स्थितिमा फर्काउन बृहत् मर्मत थालिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजनाका इञ्जिनियर राजन पाण्डेका अनुसार हालसम्म सडक मर्मतमा २० प्रतिशत भौतिक र १५ प्रतिशत वित्तीय प्रगति भएको छ । ‘१४ महिनाको सम्झौता छ, त्योभन्दा छिट्टै सकिन्छ’, पाण्डेले भने ।
१३ करोड ९९ लाखमा जोशी निर्माण सेवाले कामको जिम्मा लिएको छ । नाली मर्मत, ग्याबिन पर्खाल, भत्केको ठाउँमा कालोपत्रे लगायतका मर्मतसुधारको काम हुनेछ । सडकलाई सहज बनाउन तत्काल आवश्यक देखिएका ठाउँमा मर्मत गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए ।
‘सडकको १७ किलोमिटर दूरीमा मर्मतसुधार हुन्छ, बढी क्षति १० किलोमिटरभित्र भएको छ’, उनले भने, ‘आउँदो वर्षायाममा सडकको मुहार फेरिन्छ, यात्रुको आउजाउ पनि सहज हुन्छ ।’ निर्माण कम्पनीले डेढ सय जति कामदार लगाएर तीन÷चार ठाउँबाट एकैसाथ मर्मतको काम गरिरहेको छ ।
दुई वर्षअघिको बर्षात्मा पहिरोले क्षतविक्षत बनेको उक्त सडक खण्ड बेलैमा नबन्दा जनगुनासो बढेको थियो । जीर्ण र बिरुप बन्दै गएको लोकमार्गको मर्मतसुधारमा ढिलै भएपनि आयोजना कार्यालयले अग्रसरता लिएको छ ।
गलकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेमन्त भण्डारीले राष्ट्रिय गौरवको आयोजना भएकाले पनि लोकमार्गको स्तरोन्नतिमा कतैबाट पनि ढिलासुस्ती हुन नहुने बताए । ‘धैरेपटक हामीले आवाज उठायौँ, अहिले आएर बल्ल कामले गति लिएको छ’, भण्डारीले भने ।
गलकोट–१ र २ मा पर्ने उक्त सडक अन्तर्गत जम्दारे, भुंखानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा पहिराको उच्च जोखिम छ । सडक पुननिर्माण गर्न ४० करोडको लागत योजना प्रस्ताव गरिएको भएपनि पछि मर्मतसुधारका लागि मात्र ठेक्का भएको आयोजना कार्यालयले जनाएको छ ।