बागलुङ, २९ मंसिर– ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्षित गरी बँदेलको वैधानिक सिकार खुला गरिएपनि बँदेलको सिकार हुन सकेन ।
यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिएपनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
‘पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो’, कँडेलले भने, ‘अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी गर्नुपर्ने देखिन्छ ।’
बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।
नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्य लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । बँदेलको व्यवस्थित सिकारले स्थानीय र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उनको भनाई छ ।
‘बँदेलले किसानको खेतीबाली खाइदिन्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने छ’, कँडेलले भने । विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने आरक्ष कार्यालयले जनाएको छ ।