म्याग्दी, ५ पुस– म्याग्दी र मुस्ताङमा फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेतबारीमा राम्रो फल दिने फापरखेतीप्रति किसान आकर्षित भएका छन् ।
विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मंसिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् ।
म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।
अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्न किसानले सजिलो मान्दै आएको प्राविधिक बानियाँको भनाई छ ।
पछिल्लो समय सहर बजारका ठूला होटलमा फापरको ढिँडो र रोटी प्रचलनमा छ । फापरको पिठो प्रतिकिलो दुई सयदेखि तीन सयसम्ममा बजारमा बिक्री हुँदै आएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बरका शैलेन्द्र शेरचनले बताए ।