काठमाडौं, ६ पुस– सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए । कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्लाको फैसला सदर गरेको थियो ।
२०७४ चैत ८ मा भक्तपुर जिल्ला अदालतले २०८० असोज १ सम्म कैदमा राख्नेगरी संशोधित कैदीपूर्जी दिए पनि उनले १९ वर्ष अर्थात ९५ प्रतिशत कैद भुक्तानी गरिसकेका छन् । उनी उमेरले ७४ वर्ष भइसकेको र मुटुसम्बन्धी रोगबाट पीडित भएको भन्दै बाँकी कैद मिनाहा गरी तत्काल थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।