म्याग्दी, ७ पुस– जिल्लाको बेनी नगरपालिका वडा नं. ४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ ।
वीरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
चाप बढेपछि दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।
‘चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको छ’, शाक्यले भने, ‘सहज रूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक–फरक समयतालिका बनाएका हौँ ।’
प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । साउन महिनायता ५ हजार ४ सय ३८ जनाले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मंसिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । पुस सुरु भएदेखि तातोपानी स्नान गर्नेको संख्या दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ ।