बागलुङ, ११ पुस– सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपता ल्याउन बागलुङको नगरपालिकाले चासो देखाएको छ ।
सहज रूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुँदा किसानले समयमै मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढंगले मूल्य निर्धारणका लागि समन्वय गरेको छ ।
बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउन सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक राजु खड्काले जानकारी दिए ।
व्यापारीले रासायनिक मललाई मनोमानी ढंगले बिक्री वितरण गरेको अनुगमनका क्रममा पाइएकाले नगरपालिकाले ढुवानीसहित निर्धारण गरेको मूल्यमा बिक्री वितरण गर्नेगरी मल विक्रेतालाई मल उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण केन्द्रका प्रमुख मनोज श्रेष्ठले बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, साल्ट ट्रेडिङ कर्पोरेशन, बागलुङ, कृषि ज्ञान केन्द्र र बागलुङ उद्योग वाणिज्य संघले निर्धारण गरेको मलको मूल्यलाई बागलुङ नगरपालिकाले सदर गर्दै सोहीमूल्यमा मल खरिद गर्न किसानलाई आग्रह गरेको छ ।
नगरपालिकाका अनुसार बजार क्षेत्रमा युरिया मल प्रतिकेजी २३ र नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रतिकेजीको मूल्य २५ निर्धारण गरेको छ । डिएपी मलको बजार क्षेत्रमा प्रतिकेजी ५२, बजार नजिकका वडामा प्रतिकेजी ५३ र बलेवा क्षेत्रमा प्रतिकेजी ५४ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, पोटास मलको बजार क्षेत्रमा प्रतिकेजी ४०, बजारसँग नजिक रहेका वडामा ४१ र अन्य वडामा ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । नगरपालिकाले निर्धारण गरेको मलको मूल्यमा झोला, ढुवानी र चुहावटसमेत समावेश गरिएको छ ।