म्याग्दी, १६ पुस– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ ।
सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौँले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि योजना अघि बढाएको हो ।
विभागसँग बिओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित ८ करोड ३० लाखमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतालगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।
योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इञ्जीनियर आशिक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमितरूपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताए ।
वर्षात्मा बेगखोलामा पुल नहुँदा सर्वसाधरणले सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाई छ । अहिलेसम्म पुलको करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।