बागलुङ, १८ पुस– जिल्लामा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै जिल्लाको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् ।
गतवर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे भएको थियो । सर्वे भएकामध्ये १० पुलको मात्रै निर्माण सम्पन्न भएको भीमापोखरा युवा क्लब बागलुङका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए ।
ढोरपाटन नगरपालिकाको सिमलचौर, पँधेरी र रासीबाङ, बरेङ गाउँपालिकाको काउला, दोभानखोला, ताराखोला गाउँपालिकाको दोभान, निस्दीखोला, सादी, दोगाडी र मैन पकाउने घाट खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्दै आएका छन् । नेपाल र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गर्न झोलुङ्गे पुल सहयोग एकाइ र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।
संघीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षमा २५ पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत वर्ष सर्वे गरिएको थियो ।
चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच झोलुङ्गे पुल निर्माण हुनेछन् ।