पर्वत, २० पुस– कुश्मा नगरपालिकाले १३ जना विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै चार लाख रूपैयाँ उपलब्ध गराएको छ ।
वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार २०७८ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट ३ दशमलब ६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका १३ जना विद्यार्थीलाई झण्डै चार लाख रुपैयाँ छात्रवृत्तिस्वरुप उपलब्ध गराइएको हो ।
अध्ययनमा अब्बल विद्यार्थीलाई कक्षा १२ सम्म सघाउन मासिक २५ सयका दरले एक वर्षको रकम दिइएको हो । यससँगै प्रतिविद्यार्थी ३० हजार रूपैयाँका दरले कुल ३ लाख ९० हजार रूपैयाँ निकासा दिइएको अधिकृत गुरुङले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गइरहेका बेला त्यसलाई निरुत्साहित गर्नको नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो । ‘छात्रवृत्ति रकम थोरै भएपनि अध्ययनमा सघाउ पुग्ने विश्वास छ’ प्रमुख प्रशासकिय अधितृकत गुरुङले भने ।
छात्रवृत्ति प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ११ जना नमुना नारायण माविका रहेका छन् । माध्यामिक शिक्षा परिक्षा पास भई कक्षा १२ को पढाई नसकिने बेलासम्म छात्रवृत्ति रकम प्रदान गरिने छभने कक्षा ११ उत्तीर्ण हुन नसक्ने विद्यार्थीको छात्रवृत्ति कटौती गरिने नगरपालिकाले जनाएको छ ।