म्याग्दी, २३ पुस– जिल्लाको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरीचौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गरे ।
सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघ सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरिएको हो ।
गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताए । उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी कार्यरत छन् ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार भवन बनाउन २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले ठेक्का लिएको थियो । तीनतले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा रहेका छन् । भवन निर्माण गर्न एक करोड ८६ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।
रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले भवन निर्माणका लागि निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए । भवन निर्माणस्थलसम्म सडक गाउँपालिकाले निर्माण गरेको हो ।